|

अयोध्यामा प्राण प्रतिष्ठा, झापामा राम उत्सव

ad

झापा । भारतको अयोध्यास्थित नवनिर्मित राम मन्दिरमा सोमबार गरिएको प्राण प्रतिष्ठाको अवसरमा झापामा पनि राम उत्सव हर्सोउल्लासका साथ मनाइएको छ । पाँच सय वर्षपछि भगवान् रामलाई दिव्य मन्दिरमा प्रवेश गराएको अवसरमा भद्रपुरमा झाँकीसहित वृहत् र्‍याली निकालिएको छ ।

भद्रपुर-५ मेची किनारस्थित हनुमान मन्दिरमा विशेष पूजा अर्चना गरी र्‍याली निकालिएको थियो । हनुमान मन्दिरबाट निकालिएको र्‍याली बसपार्क, झापाचोक, भानुचोक, संगमचोक, अस्पतालमोड हुँदै गणेश मन्दिर, देवीवस्तीबाट भद्रपुर बजार परिक्रममा गरी पुनः हनुमान मन्दिरमा पुगेर समापन गरिएको थियो । र्‍यालीमा बालबालिका, युवायुवती, महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले जय श्री रामको नारा लगाउँदै नाच्दै झुम्दै नगर परिक्रममा गरेका थिए । बालबालिकाहरू राम, सीता, हनुमानको भेसभुसामा सजिएका थिए । र्‍यालीलाई सफल बनाउन सार्वजनिक हनुमान मन्दिर सञ्चालक समिति, श्रीराम रथ यात्रा समिति, भद्रपुर मारवाडी सङ्घ, भद्रपुर मारवाडी युवा मञ्च, महिला मञ्च र युवती मञ्चको संयुक्त आयोजना रहेको थियो ।

साँझमा मन्दिर परिसरमा दीप प्रज्वलन र भजन कीर्तन लगायतको कार्यक्रम सञ्चालन गरिने छ । उता काँकडभिट्टामा पनि झाँकीसहितको र्‍याली निकालिएको छ । पञ्चमुखी हनुमान मन्दिर समिति र मारवाडी सेवा समिति काँकडभिट्टाको संयुक्त आयोजनामा निकालिएको र्‍याली बजार परिक्रममा गरिएको थियो ।

साँझ दीप प्रज्वलन र भजन कीर्तनको कार्यक्रम समेत आयोजना गरिएको छ । त्यस्तै पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाममा पनि विशेष कार्यक्रम गरी राम उत्सव मनाइएको छ । मन्दिर परिसरमा बिहान ११ बजेदेखि समुद्घाटन एवम् प्राण प्रतिष्ठा समारोहलाई एलइडीमार्फत् प्रदर्शन, मध्यान्ह १२ बजे भव्य शृङ्गार आरती र साँझ ५ बजे दीपमालिकासहित भजनकिर्तन गरिएको धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए । 

Similar Posts