कोशी प्रदेश-सुविधा वृद्धि विरुद्ध सर्वोच्चमा रिट
झापा । अधिवक्ता कपिलदेव ढकालले कोशी प्रदेश सरकारको मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट हालेका छन् । अधिवक्ता सेवा सुविधा वृद्धिको निर्णय कानुन विपरीत रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेको अधिवक्ता ढकालले जानकारी दिए ।
आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिटको बुधवारको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।
कोशी प्रदेश सरकारको सिफारिसमा कोशी प्रदेशका प्रमुखले गत माघ ६ गते प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए । उक्त अध्यादेशमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड ख लाई प्रतिस्थापन गर्दै त्यसमा पूर्व मुख्यमन्त्री लगायतका व्यक्तिहरूको नाम पनि पदाधिकारीमा समावेश गराएको थियो ।