हात्तीपाइले रोगले झापालीलाई जंगली बनाउँदै
द्रोण अधिकारी,
नेपालका सचेत नागरिक बस्ने जिल्लाहरूको नाम आउँदा झापा अग्रणी जिल्ला भनेर चिनिन्छ । तर, केही रोग तथा उपचारको रोकथामको प्रयासमा झापाली नागरिकले गति छोड्दा पिछडिएको जंगली बस्तीको परिचय बनाएका छन् ।
हात्तीपाइले र कुष्ठ रोगको संक्रमणको वर्तमान दृश्य हेर्ने हो भने झापा जंगली सोच पाल्ने मानिसहरूको भीड भएको पिछडिएको जिल्लाकै रूपमा चिनिन्छ । रोग नियन्त्रणका लागि औषधी खुवाउने अभियानमा यहाँका नागरिकले सहभागिता कमजोर बनाएकै कारण संक्रमण रोकिएको छैन । यसैकारण कोशी प्रदेशमा झापा कुष्ठ रोग र हात्तीपाइले रोगको संक्रमितको संख्यामा पहिलो जिल्लाको रूपमा रहेको छ । हात्तीपाईले (फाईलेरिया) तथा कुष्ठ रोग मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्गता गराउने सरुवा रोग हुन् । हात्तीपाइले एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीको संक्रमणले गर्दा हुन्छ । यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्दछ । यसलाई रोक्न सक्ने औषधी दशक अगाडिदेखि संसारभरि पुर्याइएको छ तर रोगी या संक्रमित व्यक्तिले औषधि सेवनमा बेवास्ता गर्दा रोग नियन्त्रण हुन नसकेको हो ।
हात्तीपाइले रोगबिरूद्ध झापामा २०८१ बैशाख १६ गतेबाट महाअभियान सञ्चालनमा छ । यो रोगविरुद्ध झापामा १३ औं पटकको अभियान सञ्चालन हुँदैछ । जिल्लाका १५ वटा पालिकाका नौ लाख ६२ हजार आठ सय ६१ जनालाई औषधि सेवन गराउने लक्ष्य लिइएको छ । अभियान सफल बनाउन ८० प्रतिशत बढी मानिसलाई औषधि सेवन गराउनु पर्ने बाध्यता छ । झापामा गत वर्ष औषधि सेवन दर ७८ प्रतिशत रहेको थियो । सन् २०१२ देखि नै झापा जिल्लामा हात्तीपाईले रोगबिरुद्धको आम औषधि खुवाउने अभियान शुरुवात भएको थियो । सबै नागरिकहरुले यो अभियानमा हात्तीपाईले बिरूद्धको औषधि खाएको भए ६ पटकसम्म संचालन भएर यो अभियान स्थगित हुनु पर्ने थियो तर सबै नागरिकले यस रोगको औषधि नखाएकै कारण १३ वर्षसम्म अभियान संचालन भइरहेको छ ।
झापामा अहिले पनि २४ प्रतिशत नागरिक हात्तीपाइले रोगको संक्रमण बोकेर हिडिरहेको स्वास्थ्य कार्यालयको विवरणले देखाउँछ भने झापाको अर्जुनधारा, भद्रपुर र कनकाई नगरपालिका धेरै हात्तीपाइलेका रोगी रहेको स्थानीय सरकारका रूपमा देखिएका छन् । १३ वर्षयता हात्तीपाइले निवारणका लागि अभियान चलिरहे पनि स्थानीय सरकार तथा मातहतका कर्मचारीले सही रूपमा समन्वय गरेर काम गर्न नसक्दा हात्तीपाइले निवारणको सूचकमा असफल भएको देखिएको छ । तथ्यले कोशी प्रदेशमा हात्तीपाइलेको संक्रमण दर नियन्त्रण हुन नसकेको जिल्लामा झापा पहिलो नम्वरमा छ भने तीव्र गतिमा संक्रमित हुने कुष्ठ रोगको प्रभाव रहेको जिल्लामा पनि झापा कोशी प्रदेशमा पहिलो नम्वरमा रहेको देखिएको छ । यी दुवै रोग सामान्य औषधिबाटै नियन्त्रण हुने रोग भए पनि नागरिकले बेवास्ता गर्दा समस्या भएर झापालाई गिज्याइरहेको छ ।
औषधि खुवाइने अभियानमा विगतमा संलग्न व्यक्तिहरू वास्तविक रूपमा अभियन्ता बन्न सकिरहेका थिएनन् । त्यसैकारण अभियान सफल हुन सकेन । त्यसअघि उमेरका आधारमा औषधि सेवन गराइँदै आएको अभियानमा गत वर्षबाट उचाइ नापेर औषधि सेवन गराइँदैछ । उचाइका आधारमा तीन वटादेखि नौ वटासम्म औषधि खुवाइनेछ । अभियन्ताहरू घरघरमा पुगेर औषधि खुवाउने जनाइरहेको स्वास्थ्य कार्यालयले खटाएका स्वास्थ्यकर्मीहरू कागजी रूपमा औषधि वितरण चुस्त पारेर सुविधा भोग गरिरहेको नियामकले चाल पाउन नसक्दा रोग निदान प्रभावकारी कार्यान्वयन हुन सकेन । घरघरमा त के टोलको कुनै एक स्थानमा समेत स्वास्थ्यकर्मीले बसेर औषधि वितरण गर्न नसकिरहेको विगतको वास्तविक अवस्थाले हात्तीपाइले निवारण महाअभियान विगतमा कागजी घोडा बन्ने गरेको थियो ।
संक्रमण भएको लामोसम्म लक्षण नदेखिने भएकाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अपेक्षाकृत सफल हुन सकेको छैन । विगतको १२ औं पटकसम्मको अभियान सफल नहुनुको कारण नबुझेर हो कि कार्यान्वयनमा बेवास्ता गरेर हो हात्तीपाइले बिरूद्धको अभियान सफल हुन सकिरहेको छैन । अब झापा जिल्लाबाट हात्तीपाइले रोग निवारण गर्ने उद्देश्यले जोडतोडका साथ लागिएको जनाउने स्वास्थ्य कार्यालयको यस वर्षको काम पनि चुस्त दुरूस्त र प्रभावकारी अनुगमन निरीक्षण भएन भने लक्ष्य पूरा गर्न सक्ने छैन । गत वर्ष झापामा ७८ प्रतिशतले औषधि सेवन गरेको तथ्यांक कागजी रूपमा देखिए पनि व्यवहारिकता त्यस्तो नभएकै कारण रोग निर्मुल हुन नसकेको हो । अभियान सफल बनाउन यस पटक ८० प्रतिशतभन्दा बढी लक्ष्य हासिल गर्नु पर्ने देखिए पनि व्यवहारतः यस पटक पनि कागजमै त्यो काम बन्ने हो कि भन्ने शंका छ ।
झापाजस्तो सचेत नागरिक रहेको जिल्लाभित्रै हात्तीपाइलेबिरूद्ध औषधि खुवाउने अभियान व्यबहारिक कम र कागजी बढी मात्रामा भइरहेको विगत छ । जिल्लाका अधिकांश पालिकाभित्रका वडाका टोलटोलमा औषधि सेवन गराउने काम लक्षअनुरूप भएकै थिएन । जनचेतनाका लागि आवश्यक प्रचारप्रसार गर्ने गरिएको छैन । सूचना प्रसारका लागि आएको रकम अनुसार कुनै काम नै नगरिएका कारण औषधि सेवन गर्न जिल्लाबासी जागरूक हुन सकेका छैनन् । औषधि बिरूद्धमा भ्रम पालेर सेवन गर्न नपर्ने भन्दै तर्किरहेका छन् भने स्वास्थ्यकर्मी आफ्नो जिम्मेवारी खटाएको स्थानमा पुग्ने मात्र ठानेर बसिरहँदा कागजमा औषधि लक्ष्यअनुसार खुवाएको देखिए पनि व्यवहारतः औषधि सेवनको अवस्था नाजुक नै थियो ।
औषधि वितरण अभियान कागजी मात्र हो कि हात्तीपाइले निवारण पनि हो विगतमा प्रश्न उठेको छ । अबको अभियानमा जिम्मेवारी लिएकाहरूले सोचेर काम अगाडि बढाउन सकेनन् भने यस वर्ष पनि लक्ष्य पूरा नहुन सक्छ । यसैले जिम्मेवारीमा रहेकाहरू यो अभियान सफल नभएसम्म भोक निन्द्रा बिर्सिएर कार्यस्थलमा खटिनै पर्छ । कागज बनाएर होइन काम गरेर अभियान सफल भयो भने नागरिकले रोगबाट मुक्ति पाउलान् । यसकारण पनि हिजोका सवै गल्ती सच्याउनै पर्ने छ । ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखानको शैली अपनाएर अभियान सञ्चालन भए रोगमुक्त समाज बन्न सक्दैन ।