अढाई लाखको अवैध कपडा बरामत गर्दा सशस्त्रसँग विवाद
बिर्तामोड । झापाको बिर्तामोड–५ महानन्द चोकमा आज दिउँसो सशस्त्र प्रहरी र केही महिलाबीच तनावको अवस्था बनेको थियो । उक्त स्थानमा स्थानीय र महिलाहरु सशस्त्र प्रहरीमाथि खनिएका थिए । सशस्त्र प्रहरीले अवैध रुपमा कपडा आयात भएको सूचनापछि उनीहरुलाई पछ्याएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदन कुमार रसाईलीले त्यहाँबाट अवैध कपडा बरामत गरिएको जानकारी दिएका छन् ।
महानन्द चोकमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाको कमाण्डमा १२ जनाको चेकप्वाईन्ट टोलीले काँकडभिट्टाबाट बिर्तामोड तर्फ जादै गरेका बिभिन्न सवारी साधनहरु चेक जाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको २ लाख ५० हजार बराबरको ७ बोरा बिभिन्न किसिमका लत्ता कपडा बरामद गरेको हो ।
उक्त बरामत भएका कपडा भन्सार बुझाउने तयारी भईरहेको सूचना अधिकारी रसाईलीले जानकारी दिएका थिए । अवैध कपडा नियन्त्रणमा लिने क्रममा केहीबेर तनावको अवस्था बनेको थियो ।