सम्पत्ति शुद्धीकरणमा अहिलेसम्मकै ठूलो फाइल : सहकारीको ऋण अपचलन गरी ११ अर्ब सम्पत्ति शुद्धीकरण
काठमाडाैं । सहकारीको ऋण अपलचन गरी ११ अर्ब १९ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा मुद्दाको अनुसन्धान प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका सञ्चालकदम्पती केदारनाथ शर्मा र गीता शर्मालाई मुख्य प्रतिवादी बनाइएको छ । उनीहरूसहित कम्पनीहरूविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २९१ रुपैयाँ बिगो दाबी गरिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोजन हुन लागेको यो मुद्दा हालसम्मकै ठूलो आकारको भएको विभागले जनाएको छ । विभागका निर्देशक शिवहरि पोखरेलले तयार गरेको अनुसन्धान प्रतिवेदनले सहकारीको रकम अपचलन गरी त्यसको प्राप्ति, ‘ट्रान्सफर’ र लगानी तथा कारोबारमार्फत एकीकृत गरेर सम्पत्ति शुद्धीकरण गरेको देखाएको छ ।
विभागले मुद्दाको छानबिन प्रतिवेदनको मिसिल जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा पेस गरेको हो । यस मुद्दामा मतियारको भूमिकामा रहेको ठहर गर्दै अन्य चारजनालाई पनि प्रतिवादी कायम गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ ऐनअनुसार अब सरकारी वकिलले नै मुद्दा जिल्ला अदालतमा दर्ता गर्नेछ ।
शिव शिखर र बचतकर्ताको रकम अपचलन गरेर आर्जित सम्पत्तिबाट केदारनाथले ४० कम्पनीमा लगानी गरेका थिए । त्यसमध्ये नौ कम्पनीमा पत्नी गीताको पनि लगानी हिस्सा देखिन्छ । ती कम्पनीमा घरजग्गा, सम्पत्ति, बैंक मौज्दात, अन्तिम मौज्दातलगायत चलअचल सम्पत्तिको कुल आकार नौ अर्ब ५६ करोड २६ लाख २९ हजार ६६१ रुपैयाँबराबर छ । शर्मादम्पतीका नाममा मात्र कुल एक अर्ब ६२ करोड ८० लाख रुपैयाँको सम्पत्ति देखिएको छ । दुवै गरेर कुल ११ अर्ब १९ करोड ६ लाख २९ हजार ६६१ रुपैयाँको एकीकरण भएको देखिन्छ । उक्त रकम सम्पत्ति शुद्धीकरण भएको ठहर गर्दै विभागले मुद्दाको प्रतिवेदन तयार गरेको छ ।
गैरकानुनी स्रोतबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विभागले शर्मादम्पतीविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २९१ रुपैयाँ बिगो मागदाबी गरेको छ । त्यसमध्ये केदारनाथलाई मुख्य कसुरदार ठहर गरेर २२ अर्ब ८१ करोड ९२ लाख ९० हजार ४१५ रुपैयाँ बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण कानुनबमोजिम उक्त बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी दुईदेखि १५ वर्षको कैद तथा थप १० प्रतिशत सजाय र शुद्धीकरण गरिएको बिगो जफतको मागदाबी विभागले गरेको छ ।
त्यस्तै, पत्नी गीतालाई पनि मुख्य कसुरदारकै भूमिकामा मुद्दा दायर भएको छ । उनीविरुद्ध ५२ करोड ३३ लाख ३२ हजार २४१ रुपैयाँ बिगो कायम गरेर त्यसको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी २ देखि १५ वर्षको कैद तथा शुद्धीकरण गरिएको बिगो जफतको माग दाबी विभागले गरेको छ । शर्मादम्पतीको नाममा दर्ता भएका कम्पनीलाई पनि विभागले प्रतिवादी कायम गरेको छ ।
सम्पत्ति शुद्धीकरण गर्न धुलाइ मेसिन (लाउन्ड्रोम्याट)का रूपमा कानुनी व्यक्तिको प्रयोग भएको भन्दै ती कम्पनीविरुद्ध प्राकृतिक व्यक्तिलाई हुने सजायको पाँच गुणासम्म र बिगो जफत गर्न माग दाबी गरिएको छ । यसको बिगो नौ अर्ब ५६ करोड २६ हजार २९ हजार ६६१ रुपैयाँ छ ।
मतियारको भूमिकामा रहेको ठहर गर्दै सविना न्यौपाने, मन्दीप खवास, तेजबहादुर तामाङ, पुस्कर मल्ल, सुशील बानियाँ र प्रदीप भट्टराईलगायतलाई पनि विभागले प्रतिवादी कायम गरेको छ । उनीहरूविरुद्ध मुख्य कसुरदार (शर्मादम्पती)लाई कायम गरेको सजायको आधा सजाय र केदारनाथले लुकाएको सम्पत्ति जफतको माग दाबी गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।