पहिरोले चार परिवारको उठिवास
गोविन्द पौडेल
सूर्योदय । मनसुनसँगै सुरु भएको पहिरोले इलामको सूर्योदय नगरपालिबा-५ मा चार परिवारको उठिवास लागेको छ । सूर्योदय- ५ मेचीकिनार टोलका लालबहादुर देवान, साखबहादुर देवान, कुसुम देवान र बेदप्रसाद देवानको करिब ३५ रोपनी जग्गा बगिसकेको छ ।
पहिरो घर नजिकै आइसकेका कारण उनीहरूको अहिले गोठमा बास भएको पहिरोपीडित लालबहादुर देवानले बताए । पहिरोले लालबहादुरको २० रोपनीमा रहेको अलैँची र अम्म्रिसो बगान, साखबहादुरको २० रोपनीमा रहेको चियाबारी, र बेलप्रसादको पाँच रोपनी जमिन बगाएको हो । २३ असारबाट लगातार तीन दिन पहिरो गएर चार परिवार विस्तापित भएको पीडतले जनाएका छन् ।
यसबारेमा शसस्त्र प्रहरी, वडाकार्यलय, नगरपालिकामा लगातार जानकारी गराउँदा बेवास्ता गरेको मेचीनगर टोल विकास संस्थाकी अध्यक्ष जयन्ती गिरीले बताइन् । हालसम्म पीडितले कम्बल र प्लास्टिक मात्र पाएको उनले बताइन् ।
तत्काल पीडितलाई सुरक्षित स्थानमा पुर्नवास गराएर दिर्घकालिन योजना बनाउनुपर्ने गिरीको भनाइ छ । सूर्योदय- ५ का वडाध्यक्ष उर्गेन बम्जनले पहिरोको स्थलगत अध्ययन गरी पीडितमध्येका तीन परिवारलाई सुरक्षित स्थानमा अस्थाई स्थानान्तरण गरिएको बताए । वडाले विस्थापित परिवारका लागि राहत र पुर्नवासका लागि आवश्यक कागजी प्रकृया सकेको उनले बताए । अब नगरपालिका विपद् व्यवस्थापन समितिले अनुगमन गरी आवश्यक निर्णय गर्ने अध्यक्ष बम्जनले बताए ।