झापाबासीलाई क्लबको अपनत्व लिन झापा एफसीको आग्रह
झापा । नेपाल सुपर लिग क्लब झापा एफसीका अध्यक्ष अर्पण खड्काले सम्पूर्ण झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् ।
आज बिर्तामोडमा भएको पत्रकार सम्मेलनमा उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टिम भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए ।
अध्यक्ष खड्काले योपटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु गरिएको पनि बताए । सफल प्रशिक्षक तथा लयमा रहेका सक्षम खेलाडीका कारण लिग जित्ने खड्काले दाबी गरे ।
तेस्रो संस्करणको नेपाल सुपर लिगमा झापा एफसीले क्लबको एम्बसेडरका रुपमा राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्कालाई दोहोर्याएको छ । पत्रकार सम्मेलन गरेर क्लबले टिमको तयारीबारे पनि जानकारी दिएको छ ।
झापा एफसीले गोलकिपर प्रशिक्षकमा झापा मेचीनगरका मीनबहादुर बस्नेत तथा सहायक प्रशिक्षकमा झापा दमकका कुमार गिरीलाई अनुबन्ध गरेको छ ।
क्लबले मुख्य प्रशिक्षकमा यसअघि नै बिर्तामोडका प्रवेश कटुवाललाई अनुबन्ध गरिसकेको छ । अघिल्लो संस्करणमा ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षक रहेका कटुवालले लिग जिताएका थिए ।
सन् २०११ मा निजी क्लबका रुपमा दर्ता भएको झापा एफसी पूर्वी नेपाल र छिमेकी भारतको पश्चिम बंगाल र सिक्किममा परिचित क्लब हो । क्लबले झापा, मोरङ, सुनसरी, इलामका साथै भारतको दार्जिलिङ, सिलगुढीमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
सहिद स्मारक ए डिभिजन लिग खेल्ने उद्देश्यसहित स्थापना भएको झापा एफसीले पछिल्लोपटक दुईवटा सी डिभिजन क्वालिफायर्स खेलेको थियो ।
अध्यक्ष खड्काले महिला फुटबल टिम, उमेर समूहका टिम, फुटबल एकेडेमी र आफ्नै रंगशाला बनाउने उद्देश्य रहेको बताए । त्यसका लागि ६ बिघा जग्गाको खोजी भइरहेको उनले जानकारी दिए ।
त्यस्तै, ए डिभिजनको विकेन्द्रीकरण गर्ने, क्बलहरुको एकेडेमी बनाउने, होम एन्ड अवे खेल खेलाउनेगरी सोच्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ ।
झापा एफसीले मार्की खेलाडीको रुपमा लाकेन लिम्बूलाई भित्र्याएको छ । उज्वेकिस्तानका अजामात अब्दुलेभ र अमेरिकाका नेपालीभाषी भुटानी प्रवीण बस्नेतले झापा एफसीबाट खेल्ने छन् ।
त्यस्तै, छिरिङ गुरुङलाई रिटेन गरेको छ भने आशिष गुरुङ, अभिनास स्याङतान, दिपेश धिमाल, अञ्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक र उज्ज्वल राईलाई अक्सनबाट लिएको छ ।